Wednesday, 1 May 2013

वाइसीएल नेवा: राज्य समिति पुनर्गठन


काठमाडौँ, १८ वैशाख । एकीकृत नेकपा माओवादीले भातृ संगठन वाइसीएलको नेवा: राज्य समिति पुनर्गठन गरेको छ । वाइसीएल नेवा: राज्य समितिको बुधबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले चन्द्रबहादुर थापा ‘सागर’लाई हटाएर रामप्रसाद सापकोटा ‘दिपशीखा’को सयोजकत्वमा १ सय नौ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । सापकोटा यसअघि वाइसीएल उपत्यका सहसंयोजक हुनुहुन्थ्यो । बैठक माओवादी नेवा: राज्य समिति संयोजक देवेन्द्र पौडेल, वाइसीएल अध्यक्ष गणेशमान पुन र सह–संयोजक राजु खड्काको उपस्थितिमा बसेको थियो ।
संयोजक सापकोटाले उपत्यकामा वाइसीएलको संगठनलाई मजबुत बनाउन लागि पर्ने बताउनुभयो । सापकोटाले वाइसीएल पुन: सामूहिक बसाइमा फर्कने पनि जानकारी दिनुभयो । ‘पहिलाजस्तो व्यारेक बनाएर बस्दैनौं’, सापकोटाले भन्नभुयो, ‘तर आवश्यक पर्दा केन्द्रित भएर भने बसिन्छ ।’
 यस्तै बैठकले वाइसीएल नेवा: राज्य सम्मेलन आगामी जेठ ४ र ५ गते पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा काठमाडौँको वसन्तपुरमा गर्ने निर्णयसमेत गरेको छ । त्यसअघि वैशाख २५ देखि ३० गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, मजदुर, विद्यार्थी र सम्पर्क जिल्ला समितिको सम्मेलन गरिसक्ने बताइएको छ ।

No comments:

Post a Comment