Tuesday, 30 April 2013

दोष आफ्नै भाग्यकोः कोली


–डिलबहादुर थोकर
             मलेशिया । सपना सबैको हुन्छ तर अनेक मान्छेका आ–आफ्नै सपनाहरु हुन्छन् । तर सपना पूरा हुन्छ या हुँदैन त्यो भने जसले देख्छ उसैलाई थाहा होला । तर पनि मान्छेले बाँचुन्जेल अनेक खालका सपनाहरु देख्छन् । कतिपय सपना पूरा होलान त कतिपय पूरा नहुँदै जीवन सकेको हुन्छन् ।
त्यस्तै आफ्नो देशमा रोजगार नपाएर विदेशीन बाध्य भएका युवाहरुको त सपना नहुने भन्ने त कुरै हुन्न । हुन पनि विदेशमा अर्काको काम गरेर पैसा कमाउने पिडा उसैलाई मात्र थाहा होला जसले विदेशी भूमिमा पसिना बगाएका छन् । तर विदेशिनुको कुनै अनुभव नभएकाहरुले सोचिरहेका हुन्छन् कि विदेशमा त पैसा रुखमा टिप्न पाइन्छ । यस्तै सपना देख्दै आफ्नो यौवन अवस्थाकी प्यारी जीवन साथी र दुई नावालक छोरालाई घरमा छोडेर भविष्य खोज्दै सुखमय जीवनको गोरेटो खन्न मलेशियामा आईपुगेका छन् एक नेपाली युवा श्रमिक ललितराम कोली ।
                            नेपालमा छाँदा सामान्य खेतीपाती  गर्ने दार्चुला जिल्ला, धाप गाविस –६, धापका २८ वर्षिय कोली आफ्नो सपना पूरा गर्न २ चोटी मलेशिया छिरिसकेका छन् । पहिलो पटक उनी मलेशियामा २०५८ असोज १४ गते आएका थिए । त्रिशक्ति ओभरसिज नयाँ बानेश्वरबाट आएका कोली मलेशियाको जोहोरबारु स्थित पासेरबुटनमा एक इलेक्ट्रोनिक कम्पनीमा काम गर्थे । “कमाइ राम्रै थियो । पैसा पनि राम्रै कमाए पछि अढाई वर्ष बसेर म मातृभूमि नेपाल फर्के ।” कोली बताउँछन् । नेपाल फर्केपछि अर्काको देशमा कहिले पनि नफर्किने उनको योजना रहेछ । मलेशियामा कमाएको पैसा उनले एउटा यात्रु बाहक वसमा पर्टनरशिपमा लगानी गरेका थिए । आम्दानी दुवै जनाको राम्रै थियो । तर दिनहरु वित्दै जाँदा दुईजना विचमा अन्तरविरोध जन्मिन थालेपछि कोलीले भने गाडि छोडेर फेरि विदेशिने योजना बनाए । उनका अनुसार कमाई राम्रै भएपनि एकापसमा नमिल्ने भएपछि छोड्नुपर्ने बाध्यता भएको रहेछ ।
            मलेशियामा पैसा कमाएर एक्लैले गाडि किन्ने उदेश्यका साथ कोली फेरी २०६७ सालमा थर्डआई मेनपावर, सिनामंगलबाट मलेशियाको इभर थ्रो रवर प्रोडक्शन कम्पनीमा आइपुगे । प्रति महिना मलेशियाको पैसा कम्तीमा १ हजार ५० पाउँछ भनेर मेनपावरले पठाए पनि यहाँ आए पछि उनको सपना तुहिइएको छ ।  किनकी मेनपावरले भने जस्तो नत कम्पनी राम्रोसँग चले नत कमाई नै राम्रो भयो । नेपाल फर्केर गाडी किन्ने कुरा त परै जाओस घर व्यवहार चलाउन समेत धौ–धौ छ उनलाई । कमाई नभएपछि घर खर्च चलाउन समेत गाह्रो भईरहेको उनको भनाई छ । यहाँ आएपछि मन खिन्न भएको बताउँछन् उनी । “मन खिन्न भएको छ, सारै दुखि छु ।” उनी बताउँछन् । कमाइ राम्रो नभएपछि घर फर्किने योजना बनाएका उनले कम्पनीले करिव नेपाली रुपैयाँ ७० हजार मागेपछि जसरी पनि ३ वर्ष कटाएर जाने योजना उनको छ ।
नेपाल फर्केर पनि के गर्ने भन्ने कुरामा उनी अनविज्ञ छ । “नेपाल फर्केर पनि अब के गर्ने–गर्ने सोच्नै सकिरहेको छैन ।” उनले भने– “एकचोटी विदेशिय पछि बारम्बर किन विदेशिदो रहेछ भन्ने लाग्थ्यो कारण त यस्तो पो रहेछ । अब म पनि कुनै काम गर्न नसके विदेशिनु पर्ला ।” तर पनि उनलाई विदेशि पिडा भन्दा नेपाली माटो नै प्यारो भएको बताउँछन् ।फेरि विदेशिनुमा उनको रहर भने एकरति पनि होइन । यो उनको बाध्यता हो । यसरी आफूले दुःख पाउनुमा कसैको पनि दोष उनी देख्दैनन् । आफ्नै भाग्यको दोष देख्छन् । जनता प्रति राज्यले के गर्नुपर्ने हो उनलाई थाहा छैन । साथै नेपालका सबै मेनपावरहरुले श्रमिकहरुको बाध्यता र दुःखको फाईदा उठाउँदै बैधानिक रुपमा मानव तस्कार गरेको उनको आरोप छ । त्यस्ता मेनपावर र त्यसका सञ्चालकलाई नेपालको कानÒन नलागेकोमा उनलाई दुःख लागेको छ ।
                            विदेशमा रहेका श्रकिहरुले विदेशि भूमि टेके पछि यहाँकै रमझममा फसिरहेकामा उनलाई राम्रो नलागेको बताउँछन् । विदेशिएका श्रमिकहरुलाई विदेशमा कमाउन गाह्रो छ त्यसैले पैसाको बचत राम्रोसँग गरेर घरपरिवारको समस्या टार्न सल्लाह दिन्छन् उनी ।
                      राजनीतिमा नलागे पनि राजनीतिको चासो रहेका उनलाई नेपालको हालको राजनीतिक अवस्था देखेर झनै मन मरेको उनको भनाई छ । “नेपालमा नयाँ संविधान आउने भो भनेर कति आशा गरेको थिएँ के गर्नु हाम्रो आशालाई निराशामा बदल्दियो नेताहरुले ।” नेताहरुले जनतालाई नयाँ संविधान नदिए हामी आफैले बनाउनु पर्ने उनलाई लागेको छ ।
                जे होस कोली जस्ता उर्जाशिल र मिहिनती युवाहरु मलेशियामा लाखौं छन् । सबैको पिडाको प्रतिनिधि उनले शायद गर्न सकिदैन होला । तर पनि उनको पिडाले राज्य र राजनीतिक पार्टीका नेताहरुलाई भने दया पलाउनु पर्ने हो । कोली जस्तै नेपाल आमाका सन्तानहरुको रगत, पसिना र सहयोगले राज्यले करोडौं रुपैयाँ राजस्व उठाउन पाए पनि अब त राज्यले उनीहरुको लागि पनि केही सोच्नु पर्ने होइन र ? उनीहरुको भोटले राज्यको कुर्सीमा बस्न पाएका नेताहरुले कहिले बुझ्लान त नेपाली युवाहरुको बेथा ?किनकी युवा भनेको देशको उर्जा हो, निर्माण हो, विकास हो, अनि शाक्ति हो । यसलाई सम्बन्धित निकायलेबास्तविक रुपमै बुझ्लान त ?

No comments:

Post a Comment