रेडियो मैत्री सातौं वर्षमा प्रवेश
भास्सरा भिजन प्रालिद्वारा काठमाण्डौमा संचालित रेडियो मैत्री ९९.४
मेगाहर्ज छैठौं वर्ष पूरा गरी आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ ।
मैत्री, करुणा र शान्तिको सन्देश...मूल नारा लिई विक्रम सम्वत २०६४ वैशाख
१८ गते अर्थात आजकै दिन रेडियोको प्रसारण आरम्भ भएको थियो ।
बार्षिक
उत्सवको अवसरमा समस्त श्रोता, विज्ञापनदाता, शुभेच्छुक महानुभाव तथा मैत्री
नेटवर्कमा आवद्ध देशभरका एफएम रेडियो परिवारमा हार्दिक आभार तथा प्रगतिको
कामना रेडियो मैत्रीका अध्यक्ष विष्णु सापकोटा गर्नु भएको छ ।
स्थापनाकालमा काठमाडौं उपत्यकाभित्र मात्र प्रसारण क्षमता रहेको रेडियो
मैत्री गौरवपूर्ण छैठौं बर्ष पूरा गर्दासम्म मैत्री नेटवर्कको पहिचान बनाउन
सफल भएको छ । शुरुदेखि हालसम्म मैत्री र शान्तिको दर्शनमा अडिग रहेको
रेडियोमैत्री नेटवर्कमा हाल विभिन्न ३७ वटा एफएम रेडियोहरु आवद्ध छन् ।
सकारात्मक सोचौं, रचनात्मक बनौं भन्ने मान्यतालाई संचारक्षेत्रमा समेत
स्थापित गराउनुपर्ने अहिलेको आवश्यकतालाई परम कर्तव्यठानेको रेडियो
मैत्रीले आवाज विहीनहरुको आवाज बन्ने आफ्नो लक्ष्यलाई भुलेको छैन ।
साथै उत्पीडित समुदाय, आदिवासी जनजाति, लैंगिक उत्पीडनमा रहेका महिला
समुदाय, छुवाछुतको मारमा परेका दलित समुदाय, दिनभर पसिना बगाएर पनि साँझ
विहान हातमुख जोड्न नसक्ने अवस्थाका गरीव जनता, विभिन्न कारणले अन्यायमा
परेकाहरुको मुद्दालाई रेडियो मैत्रीले जोड दिदै आएको छ । सातौं बर्षमा
प्रवेश गरेको अवसरमा रेडियो मैत्रीले कमलपोखरीस्थित कार्यालयमा आज अपरान्ह
विशेष कार्यक्रम गर्दै छ ।
No comments:
Post a Comment