Tuesday, 30 April 2013

माओवादी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

             काठमाडौँ, १७ वैशाख । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध वितार गर्न सफल भएको बताउनुभएको छ । 
भारतको चार दिने औपचारिक भ्रमणबाट फर्कने क्रममा मंगलबार त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रमणले दुई देशबीच विश्वासको आधार तयार पारेको बताउनुभएको हो । आफूले नेपालको राजनीतिक स्थिरता र विकासका लागि लगानी गर्न आग्रह गरेको र त्यसमा भारतीय नेताहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रचण्डको भनाइ थियो । प्रचण्डले आफूले नेपालको जलविद्युत र लुम्बिनी क्षेत्रको विकासमा लगानी गर्न नेपाल, भारत र चीन मिलेर लगानी गर्न आग्रह गरेको जानकारी दिँदै उहाँले प्रत्युत्तरमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको प्रचण्डले जानकारी दिनुभयो । 
            नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीसम्बन्धी आफ्नो प्रस्तावलाई भारतीय नेताहरूले सकारात्मक रुपमा लिएको चर्चा गर्दै प्रचण्डले भारतीय पक्षबाट पहिला द्विपक्षीय साझेदारीमार्फत त्रिपक्षीय साझेदारीको वातावरण बनाउन सकिने धारणा आएको पनि जानकारी दिनुभयो । आफूले जलस्रोत र लुम्बिनीको विकासमा मिलेर लगानी गर्न आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो । ‘मेरो भारत भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका हिसाबले सफल र महत्वपूर्ण रह्यो’, प्रचण्डले भन्नुभयो, ‘नेपालको राजनीतिक स्थिरता र विकासमा लगानी गर्न भारत सकारात्मक रहेको पाएको छु ।’ 
भारतको नेपालमा जतिसक्दो छिटो निर्वाचन होओस् भन्ने चाहना रहेको आफूले बुझेको प्रचण्डको भनाइ थियो ।  प्रधानमन्त्री मनमोहन सि.हले मंसिरमा निर्वाचन हुने नहुनबारे चासो राखेको र जवाफमा आफूले मंसिरमा निर्वाचन सम्भव रहेको बताएको उहाँले बताउनुभयो । यस्तै संघीयतामा जाँदा भाषिक आधारमा जोड दिन सुझाव आएको पनि प्रचण्डले जानकारी दिनुभयो । आफ्नो भ्रमणलाई भारतले माओवादी पार्टीको व्यक्तिगत भ्रमणभन्दा मुलुककै पतिनिधिको भ्रमणका रुपमा महत्व दिएर सद्भाव र सम्मानपूर्वक व्यवहार गरिएको बताउनुभयो । आफूलाई दिएको सम्मान सबै नेपालीको गर्वको विषय भएको पचण्डले बताउनुभयो । 
            शनिबार दिल्ली प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्डले भारतमा रहँदा प्रधामनन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार शिवशंकर मेनन, नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष एवम् सत्तारूढ नेसनलिस्ट कंग्रेसका महासचिव डिपी त्रिपाठी, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, लोकसभामा विपक्षी दलकी नेतृ शुष्मा स्वाँराज तथा कंग्रेस आईका विदेश विभाग प्रमुख करण सिंह, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र विदेशसचिव रञ्जन मथाइसँग भेटवार्ता गर्नुभएको थियो । 
ती सबै भेटका क्रममा भारतीय नेताहरूले एकीकृत माओवादीलाई हेर्ने आफूहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताएका थिए ।

No comments:

Post a Comment