Sunday, 5 May 2013

चितवनमा बर्डफ्लुको सन्त्रास


एक महिनाभित्र ६० हजार कुखुरा र ३ लाख अण्डा नष्ट
चितवन, बैशाख २२— कुखुरा पालनको राजधानीको रुपमा चिनिएको चितवनमा अहिले बर्ड फ्लुको सन्त्रास छाएको छ ।
अर्वौको लगानी डुव्ने खतरा बढेपछि चितवनका कुखुरा व्यवसायीहरु चिन्तित भएका छन् । ६० हजार मजदुरहरुको रोजगारी धरापमा परेको छ । उपभोक्तामा त्रास छाएको छ ।
एक महिनाको अवधिमा बर्ड फ्लुका कारण चितवनमा ६० हजार भन्दा बढी कुखुरा मारिएका छन् । ३ लाखभन्दा बढी अण्डा नष्ट गरिएका छन् । त्यसैगरी, १५ टनभन्दा बढी दाना नष्ट गरिएको छ ।
पछिल्लो समय चैत महिनादेखि चितवनमा पटक–पटक वर्ड फ्लु देखिएपछि व्यवसायीहरु चिन्तित भएका हुन् । यस अवधिमा देखिएको वर्ड फ्लुका कारण चितवनमा मात्र ६ करोड रुपैया बराबरको क्षति भइसकेको उनीहरुले बताएका छन् । वर्ड फ्लुका कारण चितवनमा थप क्षति हुनसक्ने उनीहरुको आँकलन छ ।
बर्ड फ्लु लागेको प्रमाणित भएपछि गत सोमबार भरतपुर—९ मा रहेको चित्रराज श्रेष्ठको खोरमा रहेका २ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको थियो । त्यसैगरी, मंगलपुर–५ का रामबाबु थपलियाको खोरमा रहेका ३ हजार कुखुरा नष्ट गरेकोे जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिए
वैशाख ६ गते भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा वर्ड फ्लु भेटिएपछि कुखुरा मारिएको थियो । सोही दिन मंगलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि वर्ड फ्लु भेटिएको थियो । दुवै खोरमा गरी एकै दिन ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
तग वर्ष चैत २१ गते चितवनको शरदपुरमा रहेको प्रताप थापाको खोरमा ४ हजार कुखुरा नष्ट गरिएको थियो ।


नेपालमा कुखुरा व्यवसायमा करिव ६० अर्ब रुपैया लागनी भएको बताइन्छ । जसमध्ये ६० प्रतिशत लागनी चितवनमै छ । जिल्लामा व्रोईलर कुखुराका फार्म एक हजार र लेयर्स कुखुराका फार्म पाँच सय भन्दा बढी रहेको पोल्टी व्यवसायी मञ्च चितवनको तथ्यांक छ । व्रोइलरका ह्याचरी ४५ वटा, लेयर्स ह्याचरी १० वटा चितवनमै रहेको छ ।

वर्ड फ्लुका कारण समस्यमा परेका कुखुरा व्यवसायीहरुलाई सरकारले दिने गरेको राहत व्यवहारिक नभएको व्यवसायीहरुले बताएका छन् । सरकारले उपलव्ध गराउने भनिएको राहतको प्रकृया र शुल्क व्यवसायीलाई राहत भन्दा पनि आहत हुने खालको भएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ ।
नेपालमा सर्व प्रथम सन् २००९ को जनवरीमा झापामा वर्ड फ्लु देखा परेको थियो । त्यसको एक वर्षपछि सन् २०१० को फेब्रुअरी १६ र अक्टोवर २८ मा चितवनमा बर्ड फ्लु देखा परेको थियो । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चारकेन्द्रले ०६८ सालमा निकालेको वर्ड फ्लु सम्बन्धी जानकारी पुस्तिकामा उल्लेख भएअनुसार चितवनमा पहिलो पटक बर्ड फ्लु देखा पर्दा दुई सय २४ र दोस्रो पटक देखा पर्दा ११ हजार पाँच सय तीन कुखुरा नष्ट गरिएको थियो ।
अहिले संक्रमित खोरका कुखुरा र त्यससँग सम्बन्धित उत्पादन र सामाग्री नष्ट गर्ने र तीन किलोमिटर क्षेत्रभित्र सघनमा निगरानी राख्ने गरिएको भरतपुरमा रहेको राष्ट्रिय पंक्षी रोग निदान तथा प्रयोगशालका प्रमुख डा.बोधनाथ अधिकारीले जानकारी दिए ।

वर्डफ्लु सम्वेदनशील र असामान्य रोग भएका कारण सवै पक्ष सचेत हुनु पर्ने उल्लेख गर्दै डा अधिकारीले भने “कुखुरा पाल्दा पूरा गर्नु पर्ने प्रकृया र सुरक्षामा व्यवसायी सँगै उपभोग गर्ने उपभोक्ता पनि सचेत हुनुपर्छ ।”

No comments:

Post a Comment